आज र भोलि हिमपात र वर्षाको सम्भावना : मौसमविद-त्रिभुवन विमानस्थलमा उडान अवतरण स्थगित

भिडियो हेर्न तलको विज्ञापनलाई हटाउनुहोस


५ माघ, काठमाडौं । काम विशेषले घरबाट बाहिर निस्किँदै हुनुहुन्छ ? त्यसोभए छाता वा रेनकोट बोक्न नबिर्सनुस् । किनकि आज देशका अधिकांश स्थानमा हिमपातसहित वर्षा हुने प्रबल सम्भावना छ ।
मौसमविद समिर श्रेष्ठका अनुसार मध्य भारतमा विकसित भएको मौसमी प्रणालीको प्रभावका कारण अहिले नेपालको मौसममा बदली भएको छ ।
मौसम बदलीका कारण त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट हुने उडान-अवतरण पनि रोकिएको छ । भिजिबिलिटी कम भएकाले अहिले साना-ठूला सबै प्लेनको उडान-अवतरण हुन सकेको छैन । साना प्लेनका लागि न्यूनतम १५ सय मिटर र ठूला जहाजका लागि न्यूनतम ३ हजार मिटर भिजिबिलिटी चाहिन्छ ।
‘विहान साढे ९ बजे अघिसम्म भिजिबिलिटी २ हजार मिटर थियो तर अहिले घट्दै गएर १ हजारमा झरेको छ,’ मौसमविद समिर श्रेष्ठले अनलाइनखबरसँग भने, ‘त्रिभुवन विमानस्थलमा हुस्सु लागेकाले कुनै पनि उडान अवतरण हुन सकेको छैन ।’
श्रेष्ठका अनुसार मध्यान्ह १२ बजेदेखि मौसममा सुधार आउने र उडान-अवतरण सुचारु हुने अनुमान गरिएको छ ।
अरब सागरबाट आएको हावा र बंगालको खाडीबाट आएको हावा मध्य भारतमा मिसिएर उत्तरपूर्वतर्फ सर्दै गएकाले त्यसको प्रभाव नेपालमा पनि परेको हो ।
‘मध्य भारतमा विकसित भएको मौसमी प्रणालीका कारण र पश्चिमी वायुको प्रभावका कारण मौसम बदली भएको छ,’ मौसमविद श्रेष्ठले भने, ‘त्यसैको प्रभावले पूर्वी पहाडी क्षेत्र र हिमाली क्षेत्रमा हिमपातसहित पानी पर्ने सम्भावना अत्यधिक छ ।’
पश्चिमी क्षेत्रमा पनि पानी पर्ने सम्भावना प्रबल छ । काठमाडौं उपत्यकामा भने साँझपख हल्का पानी पर्नसक्ने सम्भावना रहेको श्रेष्ठले बताए ।
काठमाडौं उपत्यकाको आकाशमा अहिले बादल लागेको छ र अघिल्लो दिनको तुलनामा जाडो बढेको छ । ‘सोमबार अधिकतम २० डिग्री सेल्सियस थियो भने आज आधाले घटेको छ,’ मौसमविद श्रेष्ठले भने, ‘त्यसैले आज जाडो महसुस भएको छ ।’
यस्तो अवस्था बुधबारसम्म पनि जारी रहने मौसमविद श्रेष्ठले बताए । बुधबार बेलुकादेखि भने पश्चिमतर्फबाट मौसममा सुधार हुँदै जाने मौसमविदको पूर्वानुमान छ ।- 

भिडियो हेर्न तलको विज्ञापनलाई हटाउनुहोस

SHARE

About Unknown

    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment