१ खर्ब ४० अर्बमा बिक्यो एनसेल,

भिडियो हेर्न तलको विज्ञापनलाई हटाउनुहोस

काठमाडौं- नेपाललगायत विभिन्न मुलुकमा मोबाइल सेवा सञ्चालन गरिरहेको टेलियासोनेराले एक मलेसियन कम्पनीलाई एनसेल बेचेको छ। नेपालको कम्पनी किनबेच इतिहासमा अहिलेसम्मकै उच्च मूल्य तिर्दै मलेसियन कम्पनी एक्सियटाले एनसेल किनेको हो। एनसेलको एक खर्ब ४० अर्ब रुपैयाँ मूल्यांकन गर्दै टेलियासोनेराले आफ्नो सम्पूर्ण लगानी नेपालबाट फिर्ता लगेको छ। सोमबार विज्ञप्ति जारी गर्दै टेलियासोनोराले नेपालमा सञ्चालन भइरहेको एनसेल एसियाकै ठूलो दूरसञ्चार कम्पनीमध्येको एक एक्सिएटालाई एक अर्ब तीन करोड अमेरिकी डलर (१ खर्ब ३ अर्ब रुपैयाँ) मा बेचेको जनाएको छ। टेलियासोनराले उक्त मूल्यमा आफ्नो स्वामित्वमा रहेको ६०.४ प्रतिशत सेयर बेचेको हो। त्यसैगरी, निरज श्रेष्ठको नाममा रहेको २० प्रतिशत सेयर पनि भावना श्रेष्ठलाई बेचेको जनाएको छ। निरजको नाममा रहेको २० प्रतिशत सेयर चार करोड ८० लाख डलर (चार अर्ब ८० करोड रुपैयाँ) मा बिक्री गरेको जनाएको छ। सिंगापुरमा दर्ता भएको सुनिवेरा क्यापिटल भेन्चर्ससँग भावनाको साझेदारी रहने छ। एनसेलको बाँकी १९.६ प्रतिशत सेयर भाइजर समूहमा थियो। त्यो पनि एक्सिएटाले लिएको विज्ञप्तिमा जनाइएको छ। अब एनसेलको सबै सेयर एक्सियटा र भावना श्रेष्ठको स्वामित्वमा रहने छ। एक्सियटासँग ८० प्रतिशत र भावना श्रेष्ठसँग २० प्रतिशत सेयर रहनेछ। विदेशी लगानी भएको कम्पनीमा नेपाली नागरिकको कम्तीमा २० प्रतिशत सेयर हुनुपर्ने नियमअनुसार एक्सियटाले भावनालाई स्थानीय साझेदारको रुपमा लिएको एनसेलले जारी गरेको विज्ञप्तिमा जनाइएको छ। एनसेलको किनबेचसँगै नेपालको कर्पोरेट क्षेत्रमा नयाँ बहस सुरु भएको छ। पहिलो कुरा त यसको कारोबार नेपालमा नभएर अन्य देशमा भएको छ। यसले नेपाल सरकारले पाउने राजस्वको विषयमा प्रश्न उठेको छ। त्यस्तै, स्पाइस नेपालद्वारा स्थापित र एनसेलको नाममा रिब्रान्डेड दूरसञ्चार सेवा प्रदायक कम्पनीको एकपटक फेरि रिब्रान्डिङ गर्नुपर्नेछ। एक्सिएटा एसियाका ठूला कम्पनीमध्येमा पर्छ। २६ करोडभन्दा धेरै ग्राहक रहेको कम्पनीमा २५ हजारभन्दा धेरै कर्मचारी छन्। एक्सिएटाले मलेसिया, इन्डोनेसिया, श्रीलंका, बंगलादेश, कम्बोडिया, भारत, सिंगापुर, पाकिस्तान लगायत एसियाली देशको दूरसञ्चार क्षेत्रमा लगानी गरेको छ। मलेसियाको स्टक एक्सचेन्जमा सूचीकृत एक्सिएटा दक्षिण एसियामा केन्द्रित र यस क्षेत्रको विकासको लागि दिर्घकालीन लगानीकर्ताको रुपमा योगदान दिएको कम्पनी भएको विज्ञप्तिमा जनाइएको छ। एक्सियटाले नेपालले क्रमशः आर्थिक उन्नति गरिरहेको र यहाँ मोबाइल प्रयोगकर्ता बढिरहेको बताउँदै लगानी गर्नु उपयुक्त रहेको जनाएको छ। दक्षिण एसियामा एक्सियटाको निरन्तर उपस्थिति रहने र पाँच प्रमुख देशमा लगानी विस्तार गर्नेसमेत उसले जनाएको छ। नेपालमा राम्रो सेवा दिइरहेको र कम्पनीको आर्थिक अवस्था राम्रो भएकाले लगानी उपयुक्त भएको एक्सियटाका प्रेसिडेन्ट तथा ग्रुप सिइओ जमलुदिन इब्राहिमले एक मलेसियन समाचारपत्रलाई बताएका छन्। नेपालमा एक्सियटाको लगानी दीर्घकालीन हुने र नेपालको टेलिकम सेवा प्रदान गर्न उच्च डाटा कनेक्टिभिटीसहित विकास गर्ने जनाएका छन्। उत्तरदायी व्यावसायिक संस्थाको भूमिका निभाउने र नेपालको आर्थिक क्षेत्रमा योगदान गर्ने एक्सियटा कम्पनीको दीर्घकालीन योजना रहेको इब्राहिमले बताएका छन्। टेलियासोनेराले यसअघि नै युरेसिया क्षेत्रका सातवटा देशबाट आफ्नो उपस्थिति घटाउँदै लैजाने घोषणा गरिसकेको थियो। युरेसिया क्षेत्रबाट लगानी फिर्ता गर्दै नोर्डिक तथा बाल्टिक मुलुकका व्यवसाय बढाउने योजना उसले घोषणा गरिसकेको छ। टेलियासोनेरालाई उक्त योजनाअर्न्तगत अगाडि बढाउने पहिलो कदमका रुपमा नेपालको एनसेल बिक्री ठोस प्रमाणको रुपमा अगाडि आएको उसको विज्ञप्तिमा छ। टेलियासोनेराले एक्सिएटालाई नयाँ धनीको रुपमा पाउँदा खुसी लागेको जनाएको छ। एक्सिएटाले एनसेललाई अर्को नयाँ उचाइमा पुर्यासउने विश्वास लागेको टेलियासोनेराका प्रेसिडेन्ट तथा कार्यकारी प्रमुख योहान डेनेलिन्डलाई उद्धृत गर्दै विज्ञप्तिमा जनाइएको छ। 'जिम्मेवारीपूर्वक बहिर्गमन हाम्रो लागि अति महत्वपूर्ण छ। भूकम्पपश्चातको नेपालको पुनर्निर्माणमा नेपाल सरकारसँग सहकार्य जारी राख्नेछौं,' विज्ञप्तिमा योहान डेनेलिन्डलाई उद्धृत गर्दै लेखिएको छ। सम्पूर्ण कारोबार समाविष्ट गर्दा सेयर बिक्रीबाट टेलियासोनेरामा, खासगरी करसम्बन्धी व्यवस्थापपछि करिब सात अर्ब ५० करोड स्विडिस क्रोनर बराबरको खुद नगद प्रवाह हुने विज्ञप्तिमा जनाइएको छ। कारोबारबाट टेलियासोनेराको खुद आयमा न्यून असर पर्ने र समापन मितिसम्म हुने विदेशी मुद्राको विनिमय दरको उतारचढावमा पनि यसको भर पर्ने उल्लेख गरिएको छ। बिक्री सम्झौत उद्योग विभाग, नेपाल दूरसञ्चार प्राधिकरण, मलेसियन केन्द्रीय बैंक तथा एक्सिएटाका सेयरहोल्डरहरूको स्वीकृतिको अधीनमा रहने छ। यो कारोबार सन् २०१६ को पहिलो ६ महिनासम्ममा समापन हुने अपेक्षा टेलियासोनेराले गरेको छ।

भिडियो हेर्न तलको विज्ञापनलाई हटाउनुहोस

SHARE

About Unknown

    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment