इन्धन दिन चीन तयार

भिडियो हेर्न तलको विज्ञापनलाई हटाउनुहोस


हङकङ- चिनियाँ उपराष्ट्रपति ली युनचाओले तत्कालका लागि नेपाललाई इन्धन सहयोगसहित व्यापारिक कारोबार गर्न चीन तयार रहेको सन्देश दिएका छन्। चीन भ्रमणमा रहेका उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री कमल थापासँग बिहीबार बेइजिङमा भएको भेटवार्तामा पहिले दिएको एक हजार मेटि्रकटन पेट्रोल सहयोग स्मरण गर्दै उपराष्ट्रपति लीले थप सहयोग गर्ने मनशाय राखेका हुन्।

बेइजिङस्थित सरकारी मुख्यालय ग्रेट हलमा बिहीबार अपराह्न उपराष्ट्रपती लीसहित चीनको विदेश मन्त्रालयका अधिकारी र उपप्रधानमन्त्री थापाले नेतृत्व गरेको नेपाली टोलीबीच एक घन्टा ४५ मिनेट भेटवार्ता भएको थियो।

उपराष्ट्रपति लीको टोलीमा नेपालका लागि चिनियाँ राजदूत वु चुन्ताई पनि थिए। नेपाली टोलीका सदस्य कानुनमन्त्री अग्नि खरेलका अनुसार नेपाल–चीन सम्बन्धबारे दुवै पक्षले खुला रुपमा आफ्ना धारणा राखेका थिए।

शुक्रबार चीनका विदेशमन्त्री वाङ यीसँग द्विपक्षीय भेटवार्ता गर्नुअघि उपप्रधानमन्त्री थापाको टोलीले लीसँग भेटवार्ता गरेको हो। भेटवार्तामा सहभागी चीनका लागि नेपाली राजदूत महेश मास्केका अनुसार चिनियाँ कम्युनिस्ट पार्टीका पोलिटब्युरो सदस्यसमेत रहेका उपराष्ट्रपति लीसमक्ष नेपालले व्यापारिक रुपमा इन्धन लिन चाहेको बताउँदै कर मिनाहा गरिदिन आग्रह गरेको छ। भारतको नाकाबन्दीपछि चीनबाट व्यापारिक रुपमा पेट्रोलियम पदार्थ ल्याउन सम्झौतापत्रमा हस्ताक्षर गरेको नेपालले पहिलो पटक उच्च राजनीतिक तहमा आग्रह गरेको हो।

'तत्कालको आवश्यकता टार्न चीनबाट पहिलेजस्तै केही अनुदान सहयोग पनि हुनसक्ला तर कर छुट गरेर व्यापारिक रुपमै इन्धन दिनुपर्यो भनेर नेपाली पक्षले प्रस्टसँग आग्रह गरेको छ,' नेपालको आग्रहमा उपराष्ट्रपतिको जवाफ उद्धृत गर्दै राजदूत मास्केले भने, 'चीनले सहयोग गर्दै आएको छ र सकेको थप सहयोग गर्नेछ।'

भेटवार्तापछि बिहीबार साँझ बेइजिङस्थित दूतावासले जारी गरेको विज्ञप्तिमा उपराष्ट्रपति लीले नेपाललाई यसअघि दिएको एक हजार मेटि्रकटन पेट्रोल सहयोगको स्मरण गराउँदै थप सहयोगको सम्भावना औंल्याएको उल्लेछ छ।

'उपराष्ट्रपति लीले बाटोको चुनौती र करको समस्या हल गरेर चीनले व्यापारिक रुपमा पनि नेपाललाई पेट्रोलियम पद्धार्थ दिन्छ भन्ने सन्देश दिएका छन्, शुक्रबार विदेशमन्त्रीसँग हुने भेटवार्तामा ब्रेक थ्रु हुनसक्छ,' भेटमा सहभागी अर्का एक नेपाली अधिकारीले भने।

इन्धन ढुवानीसँगै जोडिएको तातोपानी नाका खोल्ने व्यवस्था मिलाइदिन तथा पाँच वर्षभित्र केरुङ आइपुग्ने रेलमार्ग नेपालसम्म विस्तार गर्न पनि नेपाली टोलीले उपराष्ट्रपतिसँग सहयोग मागेको छ।

'ऐतिहासिक महŒवको तातोपानी नाका खोल्ने व्यवस्था मिलाइदिनुपर्यो , केरुङसहित नेपाल–चीनका नौवटै नाका व्यवस्थित रुपमा सञ्चालनमा ल्याउनुपर्योा भन्ने आग्रह गरिएको छ,' मास्केले नागरिकसँग फोनमा भने।

पेट्रोलियम पदार्थ व्यापारसँगै नेपालले पारवहन सुविधाबारे पनि उपराष्ट्रपतिसँग लीसँग बलियो रुपमा कुरा राखेको छ। 'नेपाल अब भारतबाट मात्र होइन, चीनसँग पनि पारवहन सुविधा लिन चाहन्छ र जतिसक्दो चाँडो यसबारे सम्झौता गर्न चाहेको स्मरण गराएका छौँ,' मास्कले थपे।

शुक्रबार विदेशमन्त्री तहमा हुने द्विपक्षीय वार्तामा चाँडै पारवहन सम्झौता गर्नेबारे छलफल हुने जनाइएको छ।

चीन–नेपाल कूटनीतिक सम्बन्ध स्थापना भएको ६० औँ वार्षिक उत्सवको अवसरमा भएको भेटवार्तामा छ दशक लामो सम्बन्धको समीक्षा गरिएको थियो। संविधान जारी भएपछि बनेको नयाँ सरकारको पहिलो उच्च प्रतिनिधिमण्डल र चीनका उपराष्ट्रपतिसहितको टोलीबीच द्विपक्षीय सम्बन्धका अन्य विभिन्न पक्षमाथि छलफल भएको थियो।

नेपालको पुनर्निर्माणमा सहयोग गर्न तयार रहेको भन्दै उपराष्ट्रपतिले त्यसको योजना तयार गर्न नेपाललाई आग्रह गरेका थिए।

चीनको विदेश मन्त्रालयका प्रवक्ता होङ लेईले संविधान लागू भएर नयाँ सरकार बनेपछिको पहिलो उच्चस्तरीय भ्रमणलाई दुवै देशले महŒव दिएको बताउँदै नाकाबन्दीले निम्त्याएको संकट, चीनले गर्न सक्ने सहयोग, भूकम्पपछिको पुनर्निर्माणलगायत विषयमा बृहत छलफल भएको संकेत गरे।

'नेपाली टोलीको भ्रमण क्रममा दुवै पक्षले द्विपक्षीय सम्बन्ध विकाससम्बन्धी अर्को वर्षको योजना, सीमापार व्यावहारिक सहयोग तथा दुईपक्षीय चासोका अन्य विषयमा आ–आफ्नो विचार आदानप्रदान गर्नेछन्,' बिहीबार साँझ विदेश मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता होङले भने, 'यो भ्रमणले आपसी विश्वास बढाउने, सहयोग विस्तार गर्ने तथा मित्रतालाई अझ गहिरो बनाएर बृहत सहयोगात्मक साझेदारी विकास गर्नेछ।'

भारतले झन्डै तीन महिनादेखि लगाएको नाकाबन्दीले दिल्ली र काठमाडौँबीच सम्बन्ध निकै चिसिएको बेला बेइजिङमा उच्च भेटवार्ता भएको हो। उपप्रधानमन्त्री थापाको टोली बिहीबार साँझ बेइजिङस्थित नेपाली दूतावासले आयोजना गरेको स्वागत समारोहमा सहभागी भएको थियो।

भिडियो हेर्न तलको विज्ञापनलाई हटाउनुहोस

SHARE

About Unknown

    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment